Search News
संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध नगर्न वर्षमान पुनको आग्रह
- Tuesday May 12 2026
- | 218 Read
Share News

२९ वैशाख २०८३ मंगलबार। नेपाल कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन 'अनन्त' ले 'मिनी पार्लियामेन्ट' का रूपमा रहेका संसदीय समितिहरूमा सञ्चार माध्यम प्रवेशलाई रोक्न नहुने बताउनुभएको छ। बुधबार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले मिडियालाई निषेध गरेर गरिने कुनै पनि छलफल लोकतन्त्रको भावना अनुरूप नहुने उल्लेख गर्नुभयो। सुशासन, जवाफदेहीता र पारदर्शितालाई सँगसँगै लैजानुपर्नेमा जोड दिँदै उहाँले संसदीय समितिहरू सञ्चार माध्यमका लागि खुल्ला गरेर मात्रै पारदर्शिताको कुरा गर्न सुहाउने तर्क राख्नुभयो।
विशेष गरी सार्वजनिक लेखा समितिले जनताले तिरेको कर र राज्यको खर्चको पारदर्शिता सुनिश्चित गर्ने भएकाले यसको काम अन्य समितिको तुलनामा फरक र महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो। देश र जनतालाई केन्द्रमा राखेर समितिलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै उहाँले राज्य सञ्चालनका हरेक गतिविधिमा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्नुपर्ने औँल्याउनुभयो।
यसै क्रममा सांसद पुनले नयाँ र पुराना शक्ति वा विचारका आधारमा नभई सही र गलतका आधारमा मात्रै मापदण्ड बनाइनुपर्ने बताउनुभयो। पुराना सबै कुरा बेठीक र नयाँ सबै ठीक भन्ने सोच राख्नुभन्दा पनि कार्यसम्पादन र तथ्यका आधारमा मूल्याङ्कन गरिनुपर्ने उहाँको सुझाव थियो। राज्य सञ्चालनमा सही र गलतको स्पष्ट रेखा हुनुपर्ने भन्दै उहाँले कुनै पनि विषयलाई पूर्वाग्रह बिना छलफलको विषय बनाइनुपर्नेमा जोड दिनुभयो।

For Add Product Review. You Need To Login First Login Page














