Friday 29-05-2026

नेपालमा ज्येष्ठ नागरिकको संख्या दुई दशकमा दोब्बर: व्यवस्थापनका लागि पहल थाल्न विज्ञको सुझाव

Satyapana
  • Tuesday May 12 2026
  • | 178 Read

Share News

नेपालमा ज्येष्ठ नागरिकको संख्या दुई दशकमा दोब्बर: व्यवस्थापनका लागि पहल थाल्न विज्ञको सुझाव

२९ वैशाख २०८३ मंगलबार। नेपालमा ज्येष्ठ नागरिकको जनसाङ्ख्यिक वृद्धिदर तीव्र देखिएकाले उनीहरूको उचित व्यवस्थापन र सामाजिक सुरक्षाका लागि राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। विगत २० वर्षको अन्तरालमा ६० वर्ष माथिको जनसंख्या दोब्बरले वृद्धि भएको तथ्याङ्क सार्वजनिक गर्दै उनीहरूले यस्तो सुझाव दिएका हुन्।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुई दिने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रहरूले नेपालमा ज्येष्ठ नागरिकको वृद्धिदर कुल जनसंख्या वृद्धिदरको तुलनामा झन्डै तीन गुणा बढी रहेको देखाएका छन्।सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार नेपालको औसत जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहँदा ज्येष्ठ नागरिकको वृद्धिदर भने ३.२ प्रतिशत रहेको छ।२०५८ सालमा १४ लाख ७७ हजार ३७९ रहेको ज्येष्ठ नागरिकको संख्या २०७८ को जनगणनासम्म आइपुग्दा २९ लाख ७७ हजार ३१८ पुगेको छ।हाल नेपालको कुल जनसंख्याको १०.२ प्रतिशत हिस्सा ६० वर्ष माथिका नागरिकले ओगटेका छन्।स्वास्थ्य सेवामा पहुँच र आर्थिक सुधारका कारण नेपालीको औसत आयु २०३८ सालमा ४९.८ वर्ष रहेकोमा हाल ७० वर्ष पुगेको छ।त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाका अनुसार प्रजनन दर घटे पनि प्रजनन उमेर समूह ठुलो रहेकाले आगामी केही दशकसम्म ज्येष्ठ नागरिकको संख्या थप बढ्ने निश्चित छ। उनले अब जनसंख्या गणनामा मात्र सीमित नभई उनीहरूको हेरचाह र सामाजिक सुरक्षाका कार्यक्रमलाई व्यापक बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, जनसंख्या अध्येता एवं क्याम्पस प्रमुख भूमिदत्त पौडेलले जनसंख्या वृद्धिको यो असन्तुलनलाई परिवार र राज्य दुवैले गम्भीरतापूर्वक लिनुपर्ने बताए। पूर्वप्राध्यापक विधान आचार्यले औसत आयुमा भएको बढोत्तरी अनुसारको पूर्वाधार र योजना आवश्यक रहेको औँल्याए।जनसंख्या विश्लेषक चेतन अधिकारीले सञ्चारमाध्यममा ज्येष्ठ नागरिकका सवालले पर्याप्त प्राथमिकता नपाएको टिप्पणी गरे। सम्मेलनमा नेपालका साथै जापान, चीन र बंगलादेशका जनसंख्या शास्त्रीहरूले आ-आफ्नो देशको अनुभव र ज्येष्ठ नागरिक व्यवस्थापनका मोडलहरू प्रस्तुत गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले ज्येष्ठ नागरिक भत्ताको सुरुवात गर्ने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण गर्दै ज्येष्ठ नागरिकका मुद्दामा यो सम्मेलन निकै सान्दर्भिक रहेको उल्लेख गरे।


For Add Product Review. You Need To Login First Login Page