Monday 20-04-2026

गल्ती सच्याउँदै राप्रपा पुनर्गठित भएर फेरि उठ्छ: अध्यक्ष राजेन्द्र लिङ्देन

Satyapana
  • एक दिन अगाडि
  • | 76 Read

Share News

गल्ती सच्याउँदै राप्रपा पुनर्गठित भएर फेरि उठ्छ: अध्यक्ष राजेन्द्र लिङ्देन

६ वैशाख २०८३ आइतबार।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र देखिएका कमीकमजोरीहरू सच्याउँदै राप्रपा सशक्त रूपमा पुनर्गठित हुने बताउनुभएको छ। पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र विवाद र भविष्यलाई लिएर संशय उब्जिएका बेला अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।

निर्वाचनमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ सिटमा सीमित भएको राप्रपाभित्र अहिले नेतृत्व र कार्यशैलीलाई लिएर बहस सुरु भएको छ। महामन्त्री धवल शम्शेर राणाले त एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न अल्टिमेटम दिँदै स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोजक समिति बनाउनुपर्ने मागसमेत राख्नुभएको थियो ।

यसै सन्दर्भमा अध्यक्ष लिङ्देनले लेख्नुभएको छ, "राप्रपा सिद्धिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। चुनाव हार्दैमा राजनीतिक पार्टीको भविष्य सकिँदैन।" उहाँले पार्टीको मूल एजेण्डा— अभिभावकीय राजसंस्था, हिन्दु राष्ट्र र प्रदेश संरचना खारेजी— बाट पछाडि नहट्ने स्पष्ट पार्नुभएको छ। आफ्नो रगत पसिना र बैँस खर्चेर बनेको पार्टीलाई पुनर्जीवन दिने संकल्प गर्दै उहाँले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ।


For Add Product Review. You Need To Login First Login Page