Search News
कैलालीमा मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको आशंका, दुइजना गम्भीर बिरामी
- Saturday Apr 18 2026
- | 1497 Read
Share News

५ वैशाख २०८३ शनिवार। कैलालीको चुरे गाउँपालिकामा मरेको ब्रोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार स्थानीय पोल्ट्री फार्मबाट ल्याइएको मरेको कुखुराको मासु खाएपछि उनीहरू बिरामी परेका थिए। दुवै बालकको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।
आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय भाइ दिपेश ताम्राकार समेत बिरामी परेका छन्। उनीहरूको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बिहीबारको घटना भए पनि प्रहरीलाई शुक्रबार मात्रै जानकारी गराइएको थियो, लगत्तै प्रहरीले उनीहरूलाई अस्पताल पुर्याएको थियो।प्रहरीका अनुसार उक्त मासु स्थानीय 'विकास पोल्ट्री फार्म' बाट ल्याइएको खुलेको छ। फार्मका सञ्चालक मंगल साउँद आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई घटनाबारे बयान दिएका छन्। उनलाई हाल आवश्यक परेका बेला उपस्थित हुने गरी आफन्तको जिम्मा लगाइएको छ।
मरेको कुखुराकै कारण मृत्यु भएको आशंका गरिए पनि मृत्युको आधिकारिक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

For Add Product Review. You Need To Login First Login Page
















