काठमाडौका पूर्व सीडीओ छवि रिजाल पक्राउ। जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान तीव्र
- Tuesday Mar 31 2026
- | 659 Read
Share News

१७ चैत्र २०८२ मङ्गलबार । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।
प्रहरीका अनुसार रिजाललाई काठमाडौँको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई दोषी ठहर गर्दै मुद्दा दर्ता गर्न सिफारिस गरेपछि पक्राउ गरिएको बताइएको छ।
भदौ २३ र २४ गते काठमाडौँमा भएको प्रदर्शनका बेला रिजाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हुनुहुन्थ्यो। सो प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा गोली प्रहार हुँदा किशोरहरूको ज्यान गएको घटनापछि उनको भूमिकाबारे व्यापक विवाद उठेको थियो।
आयोगसमक्ष दिएको बयानमा भने रिजालले घातक हतियार प्रयोग गरी गोली चलाउन आदेश नदिएको जिकिर गर्नुभएको थियो।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

For Add Product Review. You Need To Login First Login Page














