Search News
कर्णाली विकासमा बजेटमार्फत सम्बोधन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
- Tuesday Mar 31 2026
- | 1280 Read
Share News

१७ चैत्र,२०८२ मङ्गलवार । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सन्तुलित हुने र कर्णाली प्रदेशलाई प्राथमिकताका साथ सम्बोधन गरिने बताउनुभएको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरूसँग भएको छलफलमा उहाँले बजेटमार्फत कर्णालीको विकासमा ध्यान दिइने स्पष्ट पार्नुभएको हो।
छलफलमा सहभागी सल्यान–१ का सांसद रमेश मल्लका अनुसार प्रधानमन्त्री शाहले कर्णालीलाई न्यायोचित रूपमा बजेट विनियोजन गरिने विश्वास दिलाउनुभएको थियो। प्रधानमन्त्रीले सरकार यस वर्ष शासकीय सुधारमा केन्द्रित रहने बताउनुभएको थियो।
छलफलमा सांसदहरूले कर्णालीलाई आगामी बजेटमा पहिलो प्राथमिकता दिनुपर्ने, भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने र समग्र विकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो।
उहाँहरूले जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुन पूर्वतयारी, कर्णाली, भेरी र राप्ती करिडोरलगायत सडक पूर्वाधार, मध्यपहाडी, मदनभण्डारी र लुम्बिनी–रारा लोकमार्ग, स्वास्थ्य बिमा, मातृ–शिशु पोषण, दैलेखको पेट्रोलियम अन्वेषण तथा वन्यजन्तु जोखिम व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो।
त्यसैगरी सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन र शिक्षा क्षेत्रको विकासका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।
छलफलमा नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णालीबाट निर्वाचित सांसदहरूको सहभागिता रहेको थियो।

For Add Product Review. You Need To Login First Login Page

















