Friday 05-06-2026

युवती जलाउनेलाई फाँसी सरहको कारबाही गर्न जनप्रतिनिधिको माग

Satyapana
  • Monday Mar 30 2026
  • | 976 Read

Share News

युवती जलाउनेलाई फाँसी सरहको कारबाही गर्न जनप्रतिनिधिको माग

१६ चैत २०८२, सोमबार । नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा एक युवतीलाई जलाएर हत्या गरिएको घटनाका दोषीलाई कडा कानुनी कारबाही गर्न बाँकेका जनप्रतिनिधि र नागरिक समाजले माग गरेका छन्। आइतबार बिहान जलेको अवस्थामा फेला परेकी स्थानीय सिर्जना बूढा मगर (गीता) को उपचारका क्रममा मृत्यु भएपछि सो घटनाले उग्र रूप लिएको हो।

बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईले घटनाको घोर भत्सर्ना गर्दै दोषीमाथि कुनै सम्झौता नगरी द्रुत र प्रभावकारी अनुसन्धान गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले सुरक्षा व्यवस्था सुदृढ बनाउन माग गर्दै शङ्कास्पद गतिविधिबारे समयमै सूचना दिएर जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्न समेत अपिल गर्नुभयो।

त्यसैगरी, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले र नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले महिलामाथि हुने यस्ता जघन्य अपराधका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र कडा कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ।

 जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृतक युवती पतिसँग सम्बन्धविच्छेद गरी बसेकी थिइन् र पछिल्लो समय स्थानीय युवा आरिफ ढपालीसँग प्रेम सम्बन्धमा रहेकी थिइन्। प्रहरी प्रवक्ता नायब उपरीक्षक (DSP) दिपक पातलीले घटना शङ्कास्पद रहेको जनाउँदै अनुसन्धानका लागि आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।

प्रहरी उपरीक्षक (SP) अंगुर जिसीका अनुसार प्रहरीले यसलाई 'कर्तव्य ज्यान' वा 'आत्महत्या' दुवै कोणबाट सूक्ष्म अनुसन्धान गरिरहेको छ। शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।


For Add Product Review. You Need To Login First Login Page