Saturday 18-04-2026

ग्याँस अभाव हुँदै गएपछि सिरहामा कालोबजारी सुरु

Satyapana
  • Tuesday Mar 10 2026
  • | 969 Read

Share News

ग्याँस अभाव हुँदै गएपछि सिरहामा कालोबजारी सुरु

सिरहा ।  अहिले देशभर ग्याँस अभाव देखिएको छ । त्यसको असर सिरहा जिल्लामा पनि पुगेको छ । ग्याँस अभाव हुँदै गएपछि त्यहाँका विक्रेताहरुले दोब्बर भन्दा बढी मुल्यमा बेच्न थालेको उपभोक्ताहरुको गुनासो छ । पछिल्लो समय दाउँरामा भन्दा पनि बढी ग्यासँमा खाना पकाउने गरेको र ग्याँस अभाव भएपछि स्थानीयहरु मारमा परेका हुन । यसै समयको फाइदा उठाउँन कालोबजारी सुरु भएको गुनासो   स्थानीयको छ ।   होटेलका सञ्चालकहरु  ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका बताउछन् ।   “दुई थान ग्यास लिन जाँदा प्रति सिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको तीन हजार ८२० रुपैयाँ पर्नुपर्ने हो । नौ हजार रुपैयाँ भनेपछि कसरी तिर्नु ।  त्यसपछि रित्तै हात फर्किनुपर्‍यो ।”

सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय चलाउन कठिन भएको बताउनुभयो । “सिलिन्डर किन्दा चार हजार ५०० रुपैयाँ तिर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यति महँगोमा किनेर कसरी खर्च धान्नु रु अब खाना पनि खान नसकिने अवस्था आउला कि भन्ने चिन्ता बढेको छ ।”

खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ रहेको छ । तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकारकर्मीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तुरुन्त अनुगमन गर्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कारबाही गरिने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।

कालोबजारी कानुनविपरीत काम भएकाले कोही दोषी पाइए कारबाही हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी वाणिज्य कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन गर्नेछौँ, कालोबजारी गरेको पाइए कानुनबमोजिम कारबाही हुन्छ ।”

नेपाल आयल निगमका स्थानीय वितरकहरूले ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या हुनुका साथै निर्वाचनका कारण तीन दिन सिमाना बन्द गरिनु उपभोक्ताहरूले पनि ग्यास भण्डारण गरेर राख्नुलगायत कारणले बजारमा अभाव देखिएको बताएका छन् ।


For Add Product Review. You Need To Login First Login Page