Search News
नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौ, सञ्चारमन्त्री खरेल
- Sunday Jan 04 2026
- | 1802 Read
Share News

काठमाडौँ, २० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताउनुभएको छ । आइसिटी अवार्ड–२०२५का विजेताहरुसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,“डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाँइ सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्थाहरु नै हो ।”

मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्बाह गर्न सम्पर्क मन्त्रालयको रुपमा सञ्चारमन्त्रालयले भूमिका खेल्ने विश्वास दिलाउनुभयो ।
उहाँले सूचना प्रविधिको विकासका लागि बजेट प्रयाप्त नभएको, नीतिगत उल्झनका साथै भएका नीतिको समेत कार्यान्वयनमा सिथिलताका कारण यस क्षेत्रको यथोचित विकास र प्रगति हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिलनुभयो ।
अवार्ड विजेताहरुसँग मन्त्रालयले अन्तरक्रिया गरेर राज्यले यस क्षेत्रप्रतिको सम्मान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“निजी क्षेत्रबाट कुनै संस्थाको अग्रसरतामा तपाँइहरु सम्मानीत हुनुभएको छ, जहाँ सरकार जोडिएकै हुन्छ, त्यसैले यो सम्मान राज्यको सम्मान हो । तपाँइहरको सवाल डेढ घण्टासम्म सुनेर ग्रहण गरेका छौँ ।”
मन्त्री खरेलले सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि यस क्षेत्रका विज्ञ सरोकारसँग नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताउनुभयो। आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन उहाँको आग्रह थियो ।
आइसिटी फाउण्डेशनका अध्यक्ष राजन लम्सालले स्टार्टप र इन्नोभेसनलाई प्रवद्र्धन गर्ने र नेपालको डिजिटल इकोसिस्टमलाई बलियो बनाउने उद्देश्य अनुरुप हरेक वर्ष अवार्डको आयोजना भइरहेको र यसले अन्तर्राष्ट्रिय स्तरसम्म नेपालमा र नेपालीले विकास गरेका प्रविधि, टेक प्रडक्टको विस्तारमा सहयोग पुर्याउनुका साथै युवाहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न विधाका आइसिटी अवार्ड विजेतनाले डिजिटल नेपालका लागि सूचना प्रविधि क्षेत्रको नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँहरुले डिजिटल नेपालका लागि सरकार र निजी क्षेत्र एवं विज्ञ सरोकारवालाले गर्नसकिने पहलकदमीबारे सुझाव प्रस्तुत गर्नुभएको थियो ।

For Add Product Review. You Need To Login First Login Page
















