Search News
बाढीले बगर बन्यो नुवाकोटको ढुङ्गे बजार : ११० परिवार विस्थापित
- Tuesday Sep 01 2026
- | 984 Read
Share News

१६ भदौ, २०८३ मंगलबार। कुनै समय व्यापारिक चहलपहलले सधैं गुल्जार रहने नुवाकोटको प्रमुख व्यापारिक केन्द्र ढुङ्गे बजार अहिले विनाशकारी बाढीपछि बगर र भग्नावशेषमा परिणत भएको छ। बाढीको भीषण विध्वंसले बजारका घर, पसल र भौतिक संरचना मात्रै तहसनहस बनाएको छैन, यहाँका ११० भन्दा बढी घरपरिवारलाई आफ्नै थातथलोबाट बेघर बनाएको छ। स्थानीयका अनुसार बाढीले कैयौँ घरहरू पूर्ण रूपमा बगाएको छ भने बाहिरबाट ठडिएका देखिने घरहरू पनि भित्रबाट बस्न नसकिने गरी क्षतिग्रस्त बनेका छन्। विनाशकारी बाढीले बस्ती नै उजाड बनाएपछि विस्थापित बनेका स्थानीयको अवस्था निकै कष्टकर बनेको छ।
विस्थापित परिवारमध्ये कोही आफन्तको शरणमा पुगेका छन् भने कोही खुला चौतारीमा टेन्ट टाँगेर बस्न बाध्य छन्। कतिपय स्थानीयलाई भने सरकारले स्थापना गरेका अस्थायी होल्डिङ सेन्टरमा राखिएको छ।स्थानीयका अनुसार यो बजार सामान्य बस्ती मात्र नभएर गाउँ–गाउँ जोड्ने नुवाकोटकै प्रमुख आर्थिक केन्द्र थियो। तर अहिलेको दृश्यले यहाँको विगतको त्यो चहलपहललाई एकाएक इतिहास जस्तै बनाइदिएको छ।
सदरमुकाम विदुरबाट केही अगाडि रहेको ढुङ्गे बजार हुँदै त्रिशूली र रसुवागढी नाका जोड्ने मुख्य सडक पूर्ण रूपमा विच्छेद भएको छ। केही दिनअघिसम्म कन्टेनर र यात्रुवाहक सवारीले भरिभराउ हुने सडकको ठूलो हिस्सा नै अहिले बाढीले बगाएको छ।प्रारम्भिक विवरण अनुसार ढुङ्गे बजारदेखि माथिल्लो रसुवातर्फको करिब ४० किलोमिटर सडक खण्ड नराम्ररी क्षतिग्रस्त भएको छ भने १९ वटा मोटरेबल पुल बाढीले बगाएको छ। यसले गर्दा माथिल्लो रसुवाको भूगोल पूर्ण रूपमा सडक सम्पर्कबाट अलग भएको छ।अहिले सडकमा थुप्रिएको लेदो, ढुङ्गा र माटो पन्छाएर बाटो खोल्ने प्रयास सुरु गरिएको छ। सडक निर्माणमा खटिएका एक अधिकारी भन्छन्, “बाढीका कारण माथितर्फ जाने सञ्जाल ढुङ्गेबाटै टुटेको छ। विपद् व्यवस्थापनमा सबै काम हेलिकोप्टरबाट मात्र सम्भव नहुने भएकाले यही सडक खुलाउँदै माथिल्लो रसुवासम्म पहुँच पुर्याउन तीव्र गतिमा काम गरिरहेका छौँ।”भोटेकोशीमा पानीको बहाव अझै पूर्ण रूपमा स्थिर भइसकेको छैन। बिहानपख फेरि बहाव बढेपछि स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पानीको सतह जुनसुकै बेला बढ्न सक्ने भन्दै नदी किनारका बस्तीहरूलाई जोखिममुक्त ठाउँमा रहन भनिएको छ।
रसुवागढी नाका हुँदै भित्रिने अर्बौंका मालसामान काठमाडौँ लगायत देशभर पुग्ने मुख्य बाटो यही हो। मुख्य चाडपर्व नजिकिँदै गर्दा 'लाइफलाइन' नै बन्द भएपछि बजारको आपूर्ति व्यवस्था प्रभावित हुने जोखिम बढेको छ।सडक अवरुद्ध भएपछि सरकारले तत्कालका लागि तातोपानी तथा मुस्ताङको कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी अघि बढाएको छ।सरकारी अधिकारीका अनुसार, “परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग समन्वय भइरहेको छ। तातोपानी नाकाबाट तीर्थयात्री र मालसामान ढुवानी सहज बनाउने वातावरण मिलाइएको छ। सम्भावित पहिरो पन्छाउन डोजर र जनशक्ति तयारी अवस्थामा राखिएको छ।” साथै, पर्यटक तथा अन्य यात्रुहरूको सहज आवागमनका लागि चीन सरकारसँग वैकल्पिक मार्ग खुलाइदिन अनुरोध गरिएको छ।१९ वटा पुल र दर्जनौँ किलोमिटर सडक संरचना नै ध्वस्त भएकाले रसुवा–नुवाकोट खण्डको पुनःस्थापना निकै चुनौतीपूर्ण हुने देखिएको छ। बाढीले भत्काएको ढुङ्गे बजारले आफ्नो पुरानो स्वरूप कहिले फर्काउला र विस्थापित परिवार कहिले सुरक्षित छानामुनि फर्किन पाउलान् भन्ने गम्भीर प्रश्न यतिबेला अनुत्तरित नै छ।






For Add Product Review. You Need To Login First Login Page















