Friday 29-05-2026

मतदान सकिएको २४ घण्टामा प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्छौ - आयुक्त राम प्रसाद भण्डारी

Satyapana
  • Tuesday Feb 24 2026
  • | 1542 Read

Share News

मतदान सकिएको २४ घण्टामा प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्छौ - आयुक्त राम प्रसाद भण्डारी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको एक दिनभित्र सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ। मतदान सकिएलगत्तै मतपेटिका सुरक्षित रूपमा संकलन गरी गणना प्रक्रिया तीव्र पारिने आयोगको योजना छ।
 कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले नतिजा आउन धेरै समय नलाग्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार समानुपातिकतर्फको मतगणनामा एक–दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्ष प्रणालीको अन्तिम परिणाम भने मतपेटिका संकलन भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य छ।

मतपत्र ढुवानीको काम उपत्यका बाहिर सम्पन्न भइसकेको र काठमाडौँ, ललितपुर तथा भक्तपुरका बाँकी स्थानमा मंगलबार साँझसम्म पुर्‍याउने गरी तयारी भइरहेको आयोगले जनाएको छ। मतदान अधिकृतहरूको तालिम पनि सोही दिनभित्र सकिने र त्यसपछि आवश्यक सामग्रीसहित सम्बन्धित केन्द्रमा खटिने व्यवस्था मिलाइएको छ।

निर्वाचनका लागि आवश्यक व्यवस्थापनका अधिकांश काम पूरा भइसकेको आयोगको दाबी छ। मतपत्र छपाइदेखि ढुवानीसम्मका प्राविधिक तथा प्रशासनिक प्रक्रिया सम्पन्न भइसकेका छन् भने कर्मचारीहरू कार्यक्षेत्रमा परिचालित भइसकेका छन्।

हिमाली तथा दुर्गम क्षेत्रमा अस्थायी मतदान केन्द्रबारे भने निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ। भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारण मतदाता मतदानबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आवश्यक परेमा लचिलो व्यवस्था गरिने संकेत आयोगले दिएको छ।

यसैबीच, निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना रोक्न आयोगले सबैलाई सचेत रहन आग्रह गरेको छ। राजनीतिक दलहरूलाई पनि स्वस्थ प्रतिस्पर्धामा केन्द्रित रहन आह्वान गरिएको छ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।


For Add Product Review. You Need To Login First Login Page