Search News
गुराँसले ढकमक्क मुन्दुम ट्रेलमा बढ्यो चहलपहल
- Sunday May 03 2026
- | 887 Read
Share News

२० वैशाख २०८३ आइतबार। सरकारले निर्धारण गरेका १०० पर्यटकीय गन्तव्यमध्येको एक 'मुन्दुम ट्रेल' यतिबेला विभिन्न प्रजातिका गुराँसले ढकमक्क बनेको छ। वसन्त ऋतुको आगमनसँगै पदमार्ग आसपासका वन र घाँसेमैदानमा रातो, सेतो र गुलाबी रङका गुराँस फुलेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु हुने यो पदमार्गमा लालीगुराँस, चिमाल र चाँप हेर्न जानेको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन्। हालै 'हिँड्ने मान्छे' उपनामले चिनिने ओजनबाबु आचार्यको नेतृत्वमा चारदिने पदयात्रा पूरा गरेको टोलीले यस क्षेत्रको प्राकृतिक सौन्दर्य अद्वितीय रहेको बताएको छ।
पदमार्ग क्षेत्रमा खिचिएका गुराँस र प्राकृतिक दृश्यका तस्बिरहरू फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा भाइरल भएपछि पर्यटक आगमनमा थप मद्दत पुगेको छ। "अन्यत्र पाखामा गुराँस फुल्छ, तर यहाँ ठूला घाँसेमैदानमै गुराँस ढकमक्क भेटिन्छन्," पदयात्री आचार्यले भने, "प्रकृतिप्रेमीका लागि यो एउटा अनुपम उपहार हो।"
अनुसन्धानकर्ताहरूका अनुसार मैयुङ क्षेत्रमा मात्रै १८ प्रजातिका गुराँस पहिचान भइसकेका छन्। खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सिमानामा फैलिएको यो ट्रेल किराँत समुदायको मौखिक ग्रन्थ 'मुन्दुम' र उनीहरूको जीवनशैलीसँग जोडिएको छ।
समुद्री सतहबाट ३ हजार १६५ मिटरको टेम्केडाँडादेखि ४ हजार १६५ मिटरको सिलिचुङसम्म फैलिएको यो पदमार्गमा विदेशी पर्यटकलाई करिब १३ दिन र नेपालीलाई १० दिन लाग्ने गर्दछ।
पर्यटकको चहलपहल बढेसँगै स्थानीयले परम्परागत गोठहरूलाई 'गोठ–स्टे' (गोठबास) का रूपमा स्तरोन्नति गरेका छन्। पर्यटकहरूले स्थानीय उत्पादनहरू जस्तै– चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा र अर्गानिक तरकारीको स्वाद लिन पाउने व्यवस्था मिलाइएको छ।
पदमार्गमा रेडपाण्डा, थार, भिरमौरी जस्ता वन्यजन्तु र चराचुरुङ्गीको अवलोकनका साथै घोडचढीको समेत आनन्द लिन सकिन्छ। मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईका अनुसार हिमालको दृश्य र गुराँसको सुगन्धले पदयात्रीको थकान मेटाउन मद्दत पुर्याउँछ।

For Add Product Review. You Need To Login First Login Page














