नेतृत्वको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छु : रामचन्द्र खड्का
- Friday Jan 30 2026
- | 2437 Read
Share News

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट रामेछाप जिल्लाका उम्मेदवार रामचन्द्र खड्काले पार्टी नेतृत्वले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
एक कार्यक्रममा बोल्दै उम्मेदवार खड्काले आफू उमेरका हिसाबले होइन, विचार र संघर्षका आधारमा उम्मेदवार बनेको उल्लेख गर्नुभयो। पार्टीको नेतृत्वले आफूलाई दिएको जिम्मेवारीलाई सफल बनाउन पूर्ण निष्ठाका साथ लाग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा उहाँले रामेछाप जिल्लाको राजनीतिक इतिहास स्मरण गर्दै लोकतन्त्र र परिवर्तनका लागि बलिदान दिने शहीदहरू तथा दिवंगत अग्रज नेताहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुभयो। जिल्लाको राजनीतिक आन्दोलनमा योगदान पुर्याएका व्यक्तिहरूको स्मरण गर्दै उहाँले आफूहरू त्यही इतिहासको निरन्तरताका रूपमा अगाडि बढेको बताउनुभयो।
उम्मेदवार खड्काले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत नभई साझा अवसरको रूपमा लिन आग्रह गर्नुभयो। उहाँले रामेछापमा धेरै सक्षम, संघर्षशील र योग्य नेताहरू रहेको उल्लेख गर्दै अहिले आफूलाई अवसर प्राप्त भएको र आगामी दिनमा अरूको पालो आउने स्पष्ट गर्नुभयो।
“स्रोत–साधनको अभाव हुँदाहुँदै पनि निरन्तर संघर्ष र इमान्दारिताका आधारमा पनि चुनाव जित्न सकिन्छ भन्ने सन्देश स्थापित गर्न म तपाईंहरूसँग समर्थनको अपिल गर्छु,” उहाँले भन्नुभयो।
उहाँले मुलुक र जिल्लामा भ्रष्टाचारविरुद्ध दृढ रूपमा लड्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। केन्द्रीय तहदेखि स्थानीय तहसम्म हुने भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा रहेर संघर्ष गर्ने र आवश्यक परे व्यक्तिगत बलिदान दिन पनि तयार रहेको उहाँको भनाइ थियो।
पार्टीभित्र विगतमा भएका कमजोरीहरू स्वीकार गर्दै उम्मेदवार खड्काले अब नेतृत्व, उम्मेदवार छनोट र विकासका काममा विधि र विधानअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। आगामी दिनमा पार्टीका सबै निर्णय प्रक्रिया संस्थागत ढंगले अघि बढाइने उहाँको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा उहाँले पार्टीभित्र कसैको भावना दुखेको भए क्षमायाचना गर्दै आफू पदीय जिम्मेवारीमा रहे पनि नरहे पनि जीवनभर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहने स्पष्ट पार्नुभयो।

For Add Product Review. You Need To Login First Login Page





















