नेपाल कम्युनिष्ट पार्टी(एमाले) रामेछाप जिल्ला कमिटीले गर्यो २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८ जना आकाङ्क्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस
- Tuesday Jan 06 2026
- | 1485 Read
Share News
नेपाल कम्युनिष्ट पार्टी(एमाले) रामेछाप जिल्ला कमिटीले गर्यो २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८ जना आकाङ्क्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, रामेछापले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आठ जना आकाङ्क्षी नेताको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। सिफारिस गरिने नामहरूमा पूर्व पोलिटब्यूरो सदस्यदेखि प्रदेश तथा केन्द्रीय तहका नेतासम्म समेटिएका छन्।
जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा केन्द्रीय कमिटी सदस्य माधवप्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न छैटौँ पूर्ण बैठकले वर्णानुक्रम अनुसार उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा केन्द्रीय कमिटी सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेल, प्रदेश लेखा अध्यक्ष श्यामकृष्ण श्रेष्ठसहित प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रमा सिफारिस गरिएका आकाङ्क्षीहरूमा कमलप्रसाद चौलागाईं, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, गीता कार्की, पर्शुराम बस्नेत, माधवप्रसाद ढुंगेल, रत्नप्रसाद गौतम र शान्तिप्रसाद पौडेल रहेका छन्।
बैठकले आगामी पौष २५ गतेदेखि माघ ३ गतेसम्म निर्वाचन केन्द्रित वडा–टोल विशेष अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। साथै, नेकपा (एमाले) को एघारौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित माधवप्रसाद ढुंगेल र गीता कार्कीलाई जिल्ला कमिटी बैठकमार्फत बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
यसैगरी, बैठकले पार्टीका नेता तथा कार्यकर्ताका परिवारमा भएको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

For Add Product Review. You Need To Login First Login Page



















