रामेछापको बाम्तिभण्डारमा मुस्लिम समुदायको मस्जिद उद्घाटन
- Monday Jan 05 2026
- | 2201 Read
Share News

२१ पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तिभण्डारमा मुस्लिम समुदायका लागि धार्मिक प्रयोजनको भवन मस्जिद सञ्चालनमा आएको छ । रत्नज्योति बजारमा निर्माण गरिएको उक्त मस्जिदको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुभएको हो । पुष १९ गते शनिबार आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा राष्ट्रिय स्तरका मुस्लिम संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सो अवसरमा अध्यक्ष सुनुवारले धार्मिक विविधता र आपसी सहअस्तित्वलाई सम्मान गर्ने परम्परालाई स्थानीय तहले निरन्तर समर्थन गर्ने बताउनुभयो ।
मस्जिद निर्माणका लागि वडा नं ३ कुँबुँकांस्थलीका मानबहादुर दर्जीले आफ्नो नाममा रहेको ४ आना २ दाम जग्गा दान गर्नुभएको थियो । लामो समय वैदेशिक रोजगारीका क्रममा कुवेतमा बस्दै आउनुभएका दर्जीले त्यहीँ रहँदा इस्लाम धर्म अंगीकार गरेको र परिवारसहित मुस्लिम समुदायमा आबद्ध भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जग्गा दानपछि स्थानीय सहयोग र संस्थागत स्रोत परिचालन गरेर पक्की संरचनाको मस्जिद निर्माण गरिएको हो । निर्माण लागतबारे भने यकिन विवरण सार्वजनिक गरिएको छैन ।
दर्जी परिवार हाल रत्नज्योति बजारमै बसोबास गर्दै आएका छन । उहाँका तीन छोरामध्ये जेठा छोरा कुवेतमै कार्यरत छन् भने एक छोरा भारतको गुजरातमा इस्लाम धर्मसम्बन्धी अध्ययनरत रहेको जनाइएको छ ।हिन्दु र बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको क्षेत्रमा मस्जिद स्थापना भएपछि स्थानीय स्तरमा चासो र चर्चा बढेको छ । कतिपय स्थानीयले यसलाई धार्मिक सहिष्णुता र सामाजिक सद्भावको संकेतका रूपमा लिएका छन् ।

For Add Product Review. You Need To Login First Login Page
















