Saturday 18-04-2026

कार्यकाल पूरा गरी बहिर्गमनको तयारीमा प्रधानमन्त्री: 'जेनजी' का माग पूरा गर्न नयाँ सरकारलाई सुझाव

Satyapana
  • Monday Mar 16 2026
  • | 736 Read

Share News

कार्यकाल पूरा गरी बहिर्गमनको तयारीमा प्रधानमन्त्री: 'जेनजी' का माग पूरा गर्न नयाँ सरकारलाई सुझाव

२ चैत २०८२, सोमबार।  मुलुकको विषम परिस्थितिमा चुनावी सरकारको नेतृत्व सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मुख्य कार्यभार सफलतापूर्वक पूरा गरी सरकारबाट बाहिरिने तयारी गर्नुभएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।प्रधानमन्त्री कार्कीले आफ्नो ६ महिने कार्यकालका चुनौती, निर्वाचनका दौरान भोगेका दबाब र आगामी सरकारले लिनुपर्ने बाटोबारे विस्तृत चर्चा गर्नुभएको छ।

'ताउमा फुलौरा उफ्रिए जस्तो' चुनौतीपूर्ण कार्यकाल
जेनजी (Gen-Z) आन्दोलनपछिको अस्थिर वातावरणमा पदभार ग्रहण गर्नुभएकी कार्कीले आफ्नो कार्यकाल 'ताउमा फुलौरा उफ्रिए जस्तो' चुनौतीपूर्ण रहेको बताउनुभयो। "पुराना राजनीतिक दलहरूले यो सरकारलाई केवल निर्वाचन गराउने संयन्त्रका रूपमा हेरे भने जेनजी समूहले विद्रोहबाट आएको भन्दै सबै काम अहिल्यै गर्न दबाब दिए," उहाँले भन्नुभयो। विदेशी कूटनीतिक नियोगहरूले समेत निर्वाचनको सम्भावनाप्रति संशय व्यक्त गरिरहेको अवस्थामा मन्त्रिपरिषद्का सदस्यहरूले एक-अर्कालाई सान्त्वना दिँदै काम गरेको उहाँको अनुभव छ।

सुशासन र मितव्ययितामा जोड
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा विगतका सरकारहरूले जस्तो फजुल खर्च नगरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, "मैले तलब लिइनँ, बालुवाटारमा बसेँ, त्यति मात्र हो।" ३२ अर्बको निर्वाचन खर्चमध्ये ठुलो हिस्सा सुरक्षा सामग्री र दीर्घकालीन पूर्वाधारमा गएकाले यसलाई मितव्ययी मान्नुपर्ने उहाँको तर्क छ। साथै, विश्वविद्यालय जस्ता प्राज्ञिक क्षेत्रमा राजनीतिक हस्तक्षेप नगरेको र सुरक्षा निकायका नियुक्तिमा नातावाद (नेपोटिजम) लाई प्रश्रय नदिएको उहाँले स्पष्ट पार्नुभयो।

नयाँ सरकार र बालेनप्रति विश्वास
नयाँ सरकारलाई सुझाव दिँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले उठाएका तीन मुख्य माग सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

काठमाडौँका मेयर बालेन शाहको चर्चा गर्दै उहाँले भन्नुभयो, "बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाललाई जोड्ने सन्देश दिएको छ। मलाई उहाँप्रति विश्वास छ र नयाँ पुस्ताले केही गर्छ भन्ने आशा पनि छ।"

निर्वाचन परिणाम: 'नयाँले नमात्तिने, पुरानाले नआत्तिने'
नयाँ दलहरूको उदय र पुराना शक्तिहरूको पराजयलाई कार्कीले स्वाभाविक परिवर्तनका रूपमा व्याख्या गर्नुभयो। "यो युवाको मत र परिवर्तनको चाहना हो," उहाँले थप्नुभयो, "नयाँ दलले पाएको मतको सम्मान गर्दै पुराना दलसँग सहकार्य गर्नुपर्छ। सत्तापक्षले गल्ती गर्दा प्रतिपक्षले खबरदारी गर्ने संस्कार नै लोकतन्त्र हो।"

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग, सुरक्षा निकाय र आम नागरिकको सहयोगकै कारण एक थोपा रगत नबगाई ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ।


For Add Product Review. You Need To Login First Login Page