इनिशा विक मृत्यु प्रकरण: एक सातादेखि शव अस्पतालमै, राजनीतिक हस्तक्षेपको आशंका गर्दै परिवारद्वारा शव बुझ्न इन्कार
- Saturday Mar 14 2026
- | 1093 Read
Share News
इनिशा विक मृत्यु प्रकरण: एक सातादेखि शव अस्पतालमै, राजनीतिक हस्तक्षेपको आशंका गर्दै परिवारद्वारा शव बुझ्न इन्कार

सुर्खेत । बलात्कारपछि मृत्यु भएकी १६ वर्षीया इनिशा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालमा बेवारिसे अवस्थामा रहेको छ। प्रहरी अनुसन्धानमा राजनीतिक दबाब हुनसक्ने आशंका गर्दै पीडित परिवारले दोषीमाथि कानुनी कारबाही सुनिश्चित नभएसम्म शव बुझ्न अस्वीकार गरेको हो। प्रहरीले घटना अनुसन्धानमा सकारात्मक भूमिका खेलेको छ । तर, यसमा राजनीतिक हस्तक्षेप हुन्छ कि भन्ने परिवारले आशंका गरेको छ ।
इनिशाको मृत्यु भएकै दिन शनिबार नै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल उनको घर पुगेर शव छिटो बुझ्न दबाब दिएको परिवारले आरोप लगाउँदै आएको छ । मुख्यन्त्री कँडेलले भने बाहिर आएजस्तो आफूले इनिशाको परिवारलाई शव बुझ्न दबाब नदिएको शनिबार नै स्पष्ट पारिसकेका छन् । उनले घटना अनुसन्धानमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने सामाजिक सञ्जालमार्फत बताएका थिए ।
यता, प्रहरीले अनुसन्धान गरिरहेकै बेला इनिशा र आरोपित युवक कुन बाटोबाट उक्त स्थानमा गएका थिए भन्ने सीसीटीभी फुटेज सार्वजनिक हुनुले पनि परिवारलाई थप चिन्तामा पारेको छ ।रिवारले इनिशाको सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको घटनाको सीसीटीभी फुटेज सार्वजनिक हुनुले पनि परिवारलाई थप सशंकित बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी मोहनजंग बुढथापाले भने उक्त सीसीटीभी फुटेज बाहिर ल्याउने व्यक्तिको खोजी भइरहेको जानकारी दिए । “हामी इनिशा मृत्यु प्रकरणको घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ,” उनले भने, “अनुसन्धान गरिरहेको विषयमा प्रभावित पार्ने तरिकाले सीसीटीभी फुटेज बाहिर आएको छ । त्यसको पनि थप अनुसन्धान गर्छौं ।
सुर्खेत प्रहरी प्रमुख एवं एसपी सुधीरराज शाहीले अनुसन्धान सूक्ष्म तरिकाले अगाडि बढाइएको बताए । अनुसन्धानका विभिन्न रिपोर्ट आउन बाँकी रहेको उनले उल्लेख गरे । “रगत परीक्षणको रिपोर्ट, टेलिफोन संवादलगायत रिपोर्टहरू आउन बाँकी रहेको र अन्य तवरबाट पनि अनुसन्धालाई अगाडि बढाइएको छ,” उनले भने ।
हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको उनले बताए ।
पोस्टमार्टम रिपोर्ट
इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको एसपी शाहीले जानकारी दिए ।
उनका अनुसार, बलात्कारपछि मृत्यु भएको रिपोर्टमा देखिएको छ । तर, सामूहिक बलात्कार हो/होइन भन्ने विषयमा थप परीक्षण गर्नुपर्ने भएकाले उक्त प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
जबसम्म न्याय मिल्दैन, तबसम्म शव बुझ्दैनौँ : परिवार
दोषीलाई कानुनी कारबाही गरेपछि मात्र शव बुझ्ने इनिशाका बुवा इन्द्रबहादुर विकले बताएका छन् । “मेरो छोरी २३ गते शनिबार नै गुमिसकेकी छिन्, म अहिले छोरीको न्यायको लागि लडिरहेको छु,” उनले भने, “छोरीले न्याय नपाएसम्म मैले शव बुझेर के गर्ने हो ? त्यसैले छोरीले न्याय पाएको दिन म छोरीको शव बुझ्छु ।”
उनले घटनामा राजनीतिक हस्तक्षेप नहोस् भन्ने परिवारले चाहेको बताए । यसनिम्ति सहयोग गर्न उनले सबैलाई आग्रह गरे । पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको केही हल्लाले परिवारलाई थप चिन्तित बनाएको उनले बताए ।
फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्कनजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का एक युवकलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न आशंकामा थप चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने आफन्तले माग राख्दै आएका छन् ।
८ बजे फर्किन्छु भनेर घरबाट निस्किएकी थिइन् इनिशा
त्यस दिन विज्ञान विषयको ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै इनिशा घरबाट निस्किएकी थिइन् । उनी वीरेन्द्रनगर–६ स्थित उषा बालवाटिका विद्यालयमा कक्षा–११ मा अध्ययनरत थिइन् ।
इनिशा बिहान ८ बजेसम्म फर्कने भन्दै आमा तिलालाई जानकारी गराएर घरबाट निस्किएकी थिइन् । तर, समयमा घर नफर्किएपछि आफूहरूले खोजी सुरु गरेको इनिशाकी आमाले बताइन् ।
आमा तिलाका अनुसार, छोरीलाई फोन गर्दा मोबाइल ‘स्वीच अफ’ थियो । उनी पढ्ने विद्यालयमा पनि फोन गर्दा सम्पर्क हुन सकेको थिएन । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी गराएको थियो ।
“घटनास्थल पुग्दा इनिशालाई प्रहरीले घेरेर राखिसकेका थिए,” आमा तिलाले भनिन्, “उनको शरीर रक्ताम्मे अवस्थामा रहेको, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको थियो ।”
इनिशाको परिवारले उनको मृत्यु सामूहिक बलात्कारपछि भएको भन्दै घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ ।

For Add Product Review. You Need To Login First Login Page













